सैनामैना 

सहिद नारायण पोख्रेल रामापुर क्याम्पस, सैनामैना–६, कलौनीमा बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै व्यावसायिक फूल खेती सुरु गरेका छन् ।
७१ जना विद्यार्थीको सामूहिक पहलमा सुरु गरिएको यो कार्यक्रमले पढाइलाई व्यवहारिक सीप, उद्यमशीलता र आयआर्जनसँग जोड्ने प्रयास गरेको छ ।
कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै विद्यार्थीहरूले फूल खेतीलाई व्यावसायिक गतिविधिका रूपमा अघि बढाएको विद्यार्थी विष्णु ढकालले बताए ।
‘Learning and Earning – सिक्दै कमाउँदै’ भन्ने अवधारणाअन्तर्गत सुरु गरिएको कार्यक्रमले विद्यार्थीलाई कृषि तथा उद्यमशीलतातर्फ आकर्षित गर्नुका साथै अध्ययनकै क्रममा सीप हासिल गरी आयआर्जन गर्न सकिने सम्भावनालाई समेत उजागर गरेको छ ।
विद्यार्थीहरू आफैंको सक्रिय सहभागितामा अघि बढाइएको फूल खेतीले उनीहरूमा समूहमा काम गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने, उत्पादन व्यवस्थापन गर्ने र बजारसँग जोडिने व्यावहारिक ज्ञान विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
परम्परागत रूपमा पढाइ सकेपछि रोजगारी खोज्ने प्रवृत्तिभन्दा फरक, अध्ययनसँगै उद्यम गर्ने सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले अघि बढाइएको यो पहल विद्यार्थीका लागि सिकाइको नयाँ माध्यम बनेको छ । यसले ‘सीप सिकौँ, उद्यम गरौँ र आत्मनिर्भर बनौँ’ भन्ने सन्देशसमेत दिएको छ ।

