
प्रदिप ज्ञवाली
कार्तिक २८ शनिबार
सैनामैना । सैनामैना क्रिकेट क्लबको आयोजनामा यहीँ आउँदा मङ्सिर ६ गतेबाट वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ।
स्थानीय स्तरमा क्रिकेट खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीको सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता–२०८३ आयोजना हुने भएको हो।
सैनामैना क्रिकेट क्लबको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षण र नगर खेलकुद विकास समितिको सहआयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

क्लबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सैनामैना नगरपालिका वडा नं. १ देखि ११ सम्मका वडाहरूको सहभागिता रहने प्रतियोगिता आगामी मंसिर ६ गतेदेखि सैनामैना नगरपालिका–७ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सञ्चालन हुनेछ।
प्रतियोगितामार्फत स्थानीय स्तरमा क्रिकेट खेलको विकास तथा विस्तार गर्नुका साथै नवप्रतिभावान खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको क्लबले जनाएको छ।
त्यसैगरी विभिन्न वडाबीच आपसी सद्भाव, सहकार्य र खेलभावनाको विकास गर्दै युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने विश्वास आयोजकले लिएको छ।
प्रतियोगितामा सहभागिताका लागि सम्बन्धित वडाका वडा अध्यक्षहरूलाई आधिकारिक पत्र पठाइसकिएको क्लबले जनाएको छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न खेलाडी, खेलप्रेमी, स्थानीय जनप्रतिनिधि, संघसंस्था, समाजसेवी, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि आयोजकले आग्रह गरेको छ।
सैनामैना क्रिकेट क्लबका अध्यक्ष कृष्ण नवालीले प्रतियोगितामा सहभागी भई वडाकप क्रिकेटलाई सफल बनाउन सम्पूर्ण क्रिकेट खेलाडी तथा खेलप्रेमीहरूलाई अनुरोध गर्नुभएको छ ।
थप जानकारी तथा सम्पर्क : ९८५७०३७४७५


