गृहजिल्लाको मुहार फेर्दै इन्जिनियर पुरन कार्की : पुनर्निर्माणको मैदानदेखि समृद्ध रिब्दीकोटको सारथिसम्म

२०८३ मंसिर १, सोमबार
पढ्ने समय : 2 मिनेट


पाल्पा ।
इन्जिनियरिङ पेसालाई केवल नक्सा कोर्ने र कंक्रिटका संरचना ठड्याउने प्राविधिक काम मात्र मान्नेहरूका लागि पाल्पाका युवा इन्जिनियर पुरन कार्की एक फरक उदाहरण हुन्। २०५२ सालमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, मेहल्ढापमा जन्मिएका कार्कीले आफ्नो प्राविधिक दक्षतालाई प्रशासनिक कुशलता र सामाजिक उत्तरदायित्वसँग जोडेर स्थानीय विकासमा नयाँ ऊर्जा भरिरहेका छन्।

अनुशासन, निरन्तरको मिहिनेत र इमानदारीलाई जीवनको मूलमन्त्र मान्ने कार्कीको बाल्यकाल स्थानीय संस्कृति र सामाजिक सद्भावको वातावरणमा बित्यो। यही परिवेशले उनलाई सानैदेखि समाजसेवा र नेतृत्वप्रति प्रेरित गर्‍यो। स्थानीय महाकाली माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनले पाल्पा इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा र काठमाडौंको कोटेश्वरस्थित हिलसाइड इन्जिनियरिङ कलेजबाट स्नातक तह पूरा गरे। विद्यार्थी जीवनमै संगठन र नेतृत्वको कला सिकेका उनले गृहक्षेत्रका युवाहरूलाई संगठित गर्दै हेल्पफुल हेल्प युवा क्लबको स्थापना गरी सामाजिक रूपान्तरणको यात्रा सुरु गरेका थिए।

संघर्ष, सिकाइ र पुनर्निर्माणको त्यो कठिन यात्रा

कार्कीको व्यावसायिक यात्रा विविधता र सिकाइले भरिपूर्ण छ। २०७१ सालमा डिभिजन सडक कार्यालय पाल्पाबाट पूर्वाधार निर्माणको मैदानमा होमिएका उनले २०७२ देखि २०७३ सम्म गुल्मीको रुरुक्षेत्रस्थित ज्योति उच्च माध्यमिक विद्यालयमा प्राविधिक सहायकका रूपमा अध्यापन गर्दै नयाँ पुस्तालाई सीप हस्तान्तरण गरे।
तर, उनको जीवनको सबैभन्दा चुनौतीपूर्ण र निर्णायक अध्याय २०७४ देखि २०७९ सम्मको समय रह्यो। विनाशकारी भूकम्पपछिको पुनर्निर्माण अभियानअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नुवाकोट र सघन सहरी तथा भवन निर्माण आयोजना धादिङमा खटिएर उनले हजारौँ निजी आवास, विद्यालय र अस्पतालजस्ता संवेदनशील संरचनाहरूको निर्माण तथा अनुगमन गरे। कठिन भूगोल र विपद्पछिको जटिल परिस्थितिमा ठूला आयोजना सफल बनाएर उनले आफ्नो प्राविधिक क्षमतालाई अझ खारे।

गृहजिल्ला फर्किएर स्थानीय विकासमा समर्पित
देशका विभिन्न भागमा विपद् व्यवस्थापन र ठूला आयोजनाको अनुभव बटुलेपछि कार्की आफ्नै माटोको सेवा गर्न पाल्पा फर्किए। २०७९ सालदेखि उनी रिब्दीकोट गाउँपालिकाको प्राविधिक शाखा प्रमुख इन्जिनियरका रूपमा कार्यरत छन्।
गाउँपालिकाको प्राविधिक नेतृत्व सम्हालेयता उनले योजना तर्जुमा, पारदर्शी कार्यान्वयन र नियमित अनुगमनमार्फत गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिएका छन्। सार्वजनिक खरिद तथा प्रशासनिक व्यवस्थापनलाई चुस्त बनाउँदै स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्ने उनको कार्यशैलीले जनप्रतिनिधि र स्थानीयवासी दुवैको विश्वास जितेको छ। ‘समृद्ध रिब्दीकोट’ को परिकल्पना साकार पार्न सुशासन र पारदर्शितालाई उनले मुख्य आधार बनाएका छन्।

निजी क्षेत्रबाट पनि निर्माणमा योगदान

सरकारी जिम्मेवारीका अतिरिक्त निजी क्षेत्रबाट पनि मुलुकको पूर्वाधार विकासमा टेवा पुर्‍याउने सोचका साथ उनी ‘सत्यवती इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन प्रा.लि.’ को प्रबन्ध निर्देशकका रूपमा सक्रिय छन्। यस संस्थामार्फत इन्जिनियरिङ डिजाइन, ड्रइङ, आधुनिक निर्माण तथा सम्पत्ति मूल्याङ्कन लगायतको क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह भइरहेको छ।

निडर व्यक्तित्व, सरल व्यवहार र प्रष्ट दूरदृष्टि भएका इन्जिनियर कार्कीका लागि इन्जिनियरिङ जनजीवन सहज बनाउने र सामाजिक न्याय स्थापित गर्ने माध्यम हो। स्थानीय स्रोतसाधनको न्यायोचित उपयोग र दिगो विकासको मूलमर्मलाई आत्मसात् गर्दै अघि बढेका युवा इन्जिनियर कार्की स्थानीय तहको विकासमा एक प्रेरणादायी पात्र बनेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय