अष्ट्रेलियामा नेपालीको ५० वर्षे यात्रा, सिड्नीमा स्वर्ण महोत्सव आयोजना हुँदै

२०८३ मंसिर ६, शनिबार
पढ्ने समय : 2 मिनेट

अष्ट्रेलियामा नेपाली समुदायको आगमन र संगठित यात्राले ५० वर्ष पूरा गरेको अवसरमा सिड्नीमा विशेष स्वर्ण महोत्सव आयोजना हुने भएको छ।

सन् १९७६ मा स्थापना भएको अष्ट्रेलियाकै पुरानो नेपाली संस्था ‘नेप्लिज अष्ट्रेलियन एसोसिएसन’ (एनएए) को आयोजनामा आगामी नोभेम्बर २७ र २८ गते सिड्नीको हर्षभिलस्थित मराना अडिटोरियम (मराना हल) मा दुईदिने स्वर्ण महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा सहभागी हुन नेपालबाट कला, साहित्य, चिकित्सा र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू अष्ट्रेलिया जाने भएका छन्। कार्यक्रममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी), वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, हास्य कलाकार मनोज गजुरेल तथा लोकप्रिय गायिका शान्तिश्री परियारको विशेष सहभागिता रहने जनाइएको छ।

पाँच दशकअघि अष्ट्रेलिया पुग्ने नेपालीहरूको संख्या निकै न्यून थियो। नयाँ भाषा, फरक संस्कृति र अपरिचित परिवेशका बीच सीमित स्रोतसाधनमा आफ्नो भविष्य निर्माण गर्न थालेको नेपाली समुदायले आज अष्ट्रेलियामा बलियो पहिचान स्थापित गर्न सफल भएको छ।

सुरुआती पुस्ताको संघर्ष, विद्यार्थीहरूको मेहनत, परिवारको त्याग, व्यवसायीहरूको उद्यमशीलता तथा सामाजिक अभियन्ताहरूको योगदानले अष्ट्रेलियामा नेपाली समुदायलाई संगठित र प्रभावशाली बनाएको छ।

पछिल्लो समय विद्यार्थी, दक्ष जनशक्ति तथा व्यवसायीहरूको आगमनसँगै सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थ, एडिलेड, क्यानबेरा र होबार्टलगायतका सहरमा नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको छ। शिक्षा, स्वास्थ्य, व्यापार, राजनीति, विज्ञान र कला क्षेत्रमा समेत नेपालीहरूले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्।

त्यसैगरी नेपाली मन्दिर, गुम्बा, पाठशाला, सञ्चारमाध्यम तथा दसैँ–तिहारलगायतका सांस्कृतिक पर्वहरूको आयोजनाले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

एनएएको आयोजनामा हुन लागेको स्वर्ण महोत्सवले अष्ट्रेलियामा नेपाली समुदायले तय गरेको पाँच दशक लामो संघर्ष, उपलब्धि र सफलताको स्मरण गराउने अपेक्षा गरिएको छ। साथै, नयाँ पुस्तालाई आफ्नो इतिहास, पहिचान, भाषा र संस्कृतिसँग जोड्दै भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय