
कुनै पनि व्यक्तिको पहिचान उसको पेसागत सफलताले मात्र नभएर उसले समाजसँग जोडेको सम्बन्ध र संस्कारले पनि निर्धारण गर्छ। पाल्पाको तानसेन नगरपालिका–६, बर्तुङमा २०४९ सालमा जन्मिएका इन्जिनियर दिपेश घिमिरे यस्तै एक बहुआयामिक व्यक्तित्व हुन्, जसले आफ्नो प्राविधिक दक्षता, प्रशासनिक सुझबुझ र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाएका छन।दिपेशको व्यक्तित्व निर्माणमा पारिवारिक संस्कारको गहिरो प्रभाव छ। अनुशासन, निरन्तरको मेहनत र इमानदारीलाई जीवनको मूल आधार मान्ने उनी स्थानीय सामाजिक तथा सांस्कृतिक परिवेशमा बाल्यकाल बिताए। यही गाउँको परिबेशको सामाजिक सद्भावले उनलाई सानैदेखि समाजप्रति उत्तरदायी बन्न प्रेरित गर्यो।
बाल्यकालदेखि नै पढाइमा लगनशील घिमिरेले तानसेनको ‘न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुल’बाट एसएलसी उत्तीर्ण गरे। उच्च शिक्षाको फराकिलो दायरा खोज्दै काठमाडौँ उपत्यका छिरेका उनले ललितपुरको खुमलटारस्थित ह्वाइट हाउस कलेजबाट प्लस टु पूरा गरे। तर, आफ्नो क्षेत्रमै बसेर प्राविधिक शिक्षा हासिल गर्ने हुटहुटीले उनलाई आफ्नै प्रदेश लुम्बिनी फर्कायो। रुपन्देहीको भलवारीस्थित लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र सोही कलेजबाट ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’मा स्नातकोत्तर हासिल गर्दै उनले आफूलाई एक परिपक्व प्राविधिक विज्ञका रूपमा स्थापित गरे । अध्ययनकै क्रममा उनी लुम्बिनी इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत निर्वाचित भएका थिए, जहाँबाट उनको औपचारिक नेतृत्व यात्राको बलियो जग बसेको थियो।

घिमिरेको व्यावसायिक जीवनको सुरुवात निकै चुनौतीपूर्ण र गौरवमय रह्यो। भैरहवास्थित राष्ट्रिय गौरवको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना’मा करिब दुई वर्ष काम गर्दा उनले ठूला पूर्वाधार निर्माणको जटिलता, समय व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डलाई नजिकबाट बुझ्ने अवसर पाए। ठूला आयोजनाको अनुभव बटुलेपछि उनी आफ्नै गृहजिल्लाको सेवामा फर्किए। तानसेन नगरपालिकामा करिब पाँच वर्ष इन्जिनियरका रूपमा कार्यरत रहँदा उनको व्यक्तित्वको अर्को पाटो उजागर भयो, त्यो हो प्रशासनिक दक्षता र जनमुखी कार्यशैली। नगरपालिकाको संस्थागत संरचना, योजना छनोट, बजेट विनियोजन र सार्वजनिक खरिद प्रक्रियाजस्ता जटिल प्रशासनिक पक्षहरूमा उनले व्यावहारिक दख्खल राखे। विकास निर्माणको अनुगमन र प्राविधिक मूल्याङ्कन गर्दै उनले स्थानीय नागरिकका वास्तविक आवश्यकता र स्रोतसाधनको सही पहिचान गर्ने क्षमता विकास गरे।
पेसागत हकहित र संस्थागत नेतृत्वमा पनि घिमिरे उत्तिकै सक्रिय छन्। विद्यार्थीकालमा स्ववियु सभापतिको भूमिका निर्वाह गरेका उनले पछि ‘नेपाल इन्जिनियर्स एसोसिएसन’को लुम्बिनी प्रदेश सदस्य तथा ‘नेपाल भ्यालुअर्स एसोसिएसन’को लुम्बिनी प्रदेश उपाध्यक्षको जिम्मेवारीसमेत कुशलतापूर्वक सम्हालेका छन्। यी संस्थागत अनुभवहरूले उनलाई प्रदेशस्तरको प्राविधिक क्षेत्र र नीतिगत बहससँग अझ नजिकबाट जोडेको छ।
घिमिरेको व्यक्तित्व सरकारी सेवा र ठूला आयोजनामा मात्र सीमित छैन। आफूले सिकेको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले उनले फर्साटिकर माध्यमिक विद्यालयको सिभिल इन्जिनियरिङ विभागको संयोजकका रूपमा रहेर अध्यापन समेत गरे। यसका साथै, निजी क्षेत्रबाट पनि गुणस्तरीय पूर्वाधार विकासमा योगदान पुर्याउन उनले ‘रानीमहल इन्जिनियरिङ कन्सल्टेन्सी’को व्यवस्थापकीय नेतृत्व सम्हाल्दै आएका छन्।
सरल स्वभाव, स्पष्ट दृष्टिकोण र कामप्रतिको लगाव दिपेश घिमिरेका प्रमुख विशेषता हुन्। उनका लागि इन्जिनियरिङ केवल नक्सा कोर्ने र संरचना बनाउने प्राविधिक विषय मात्र नभएर यो समाज रूपान्तरणको सशक्त माध्यम हो। स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै दिगो विकासको खाका कोर्ने र आफ्नो प्राविधिक ज्ञानलाई प्रत्यक्ष सामाजिक सेवासँग जोड्ने स्पष्ट लक्ष्यका साथ उनी निरन्तर क्रियाशील छन्।

