
चाडपर्वमा खेलिने देउसी–भैलोलाई मनोरञ्जनमा मात्र सीमित नराखी त्यसबाट संकलित रकम सामाजिक तथा मानवीय सेवामा खर्च गर्दै सैनामैनामा सक्रिय कालाग्नि परिवारले उदाहरणीय कार्य गरेको छ।

धार्मिक तथा सामाजिक क्षेत्रमा क्रियाशील कालाग्नि परिवारले देउसी–भैलो खेलेर संकलन गरेको रकमबाट बुटवल उपमहानगरपालिका–११, देवीनगर प्रगतिनगरस्थित नेपाल अपाङ्ग आश्रममा आश्रित ४२ जनालाई भोजन सेवा प्रदान गरेको हो।

कालाग्नि परिवार सैनामैना टिमका सक्रिय सदस्यहरूको उपस्थितिमा उक्त सेवा कार्यक्रम सम्पन्न भएको थियो। मौलिक संस्कृति, धर्म र संस्कारको संरक्षण गर्ने उद्देश्यले खेलिएको देउसी–भैलोबाट संकलित रकमलाई सामाजिक सेवामा सदुपयोग गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको परिवारका अध्यक्ष प्रदीप कोइरालाले बताउनुभयो।
उहाँका अनुसार कालाग्नि परिवारले रुपन्देहीमा मात्र नभई जिल्लाबाहिरका विभिन्न स्थानमा समेत सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ। यसअघि रसुवाका बाढीपीडितलाई राहत वितरण गर्नुका साथै विभिन्न सामाजिक सेवाका कार्यमा समेत संस्थाले सक्रिय सहभागिता जनाउँदै आएको उहाँले जानकारी दिनुभयो।
कालाग्नि परिवारले सामाजिक सेवासँगै मौलिक संस्कृति, धर्म र परम्पराको संरक्षणलाई पनि प्राथमिकता दिँदै आएको छ। संस्थाले प्रत्येक शनिबार भजन–कीर्तनलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने मठमन्दिर संरक्षण, रक्तदान तथा सम्पदा संरक्षणका क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको छ।
कार्यक्रमका संयोजक तथा संस्थाका कोषाध्यक्ष अर्जुन गौतमले आगामी दिनमा पनि सामाजिक, धार्मिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने बताउनुभयो। साथै, कार्यक्रम सफल बनाउन सहयोग, हौसला, सुझाव र सल्लाह प्रदान गर्ने सम्पूर्ण शुभचिन्तकप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
देउसी–भैलोबाट संकलित रकमलाई सामाजिक सेवामा खर्च गर्दै संस्कृति संरक्षण र मानवीय सेवालाई सँगसँगै अघि बढाएको कालाग्नि परिवारको प्रयासले सकारात्मक सन्देश दिएको छ। चाडपर्वको खुसी आश्रममा आश्रित व्यक्तिहरूसँग बाँड्ने यस कार्यले सामाजिक सद्भाव, सहयोग र मानवीय सेवाको महत्त्वलाई थप उजागर गरेको छ।


