मलमला मन्दिर पुनर्निर्माणका लागि बृहत् छलफल, विकास र पर्यटन प्रवर्द्धनमा जोड

२०८३ आश्विन २६, सोमबार
पढ्ने समय : 2 मिनेट

प्रदिप ज्ञवाली

असोज २६ सोमबार 

सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित मलमला मन्दिरको पुनर्निर्माण तथा व्यवस्थित विकास गर्ने उद्देश्यले बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ। मन्दिरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्दै विकासका कामलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरिएको हो।

मलमला एकीकृत सामुदायिक विकास कार्यक्रमको आयोजनामा सम्पन्न छलफलमा संस्थाका कार्यसमिति सदस्य, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवाहरुको  सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष पदम पाण्डेले मलमला एकीकृत सामुदायिक विकास कार्यक्रमको उद्देश्य, मन्दिर पुनर्निर्माणका लागि हालसम्म भएका काम तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँले मन्दिरको विकास र संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

सैनामैना नगरपालिका–६ का वडाध्यक्ष गोपाल पोखरेलले एसियाली विकास बैंक (एडीबी) को कार्यक्रम आए पनि प्रचलित वन ऐनका कारण योजनाअनुसार काम अघि बढाउन कठिनाइ भएको बताउनुभयो। उहाँले नगरपालिका र प्रदेशको लगानीमा काम अघि बढाइएको जानकारी दिँदै मन्दिरको विकासका लागि वडा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

नेकपा एमालेका सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपानेले मलमला मन्दिरको श्रीवृद्धि र विकासका लागि आफ्नो पार्टी निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग र पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, सैनामैना नगरपालिका–८ का वडाध्यक्ष बुद्धिराम चौधरीले साम्प्रदायिक भावना त्यागेर साझा उद्देश्यका साथ अघि बढ्न सके मन्दिरको विकास सम्भव हुने बताउनुभयो। उहाँले मन्दिरको उन्नतिका लागि सबै पक्षबीच एकता र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

नेपाली कम्युनिस्ट पार्टीका नगर अध्यक्ष मानबहादुर महतले मलमला मन्दिरलाई पर्यटन र स्थानीयको आयआर्जनसँग जोड्न सके यस क्षेत्रको समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले नेपाल तथा भारतका अन्य हिन्दू मन्दिरसँग समन्वय गर्दै मलमला मन्दिरको प्रचारप्रसारलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो।

नेपाली कांग्रेसका नगर उपसभापति टीकाराम उप्रेतीले मन्दिरको विकास र समृद्धिका लागि आफूहरू सधैँ तयार रहेको बताउँदै यसको ऐतिहासिक महत्त्वलाई प्रचारप्रसारमार्फत थप उजागर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

छलफलमा सहभागी स्थानीय अगुवाहरूले पनि मन्दिरको पुनर्निर्माण, संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न सुझाव राखेका थिए। सहभागीहरूले धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको मलमला मन्दिरलाई व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।

मलमला एकीकृत सामुदायिक विकास कार्यक्रमका सचिव तुलसीराम पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय