सैनामैना । गर्ल्स इम्पावरमेन्ट ग्रुप, सैनामैना–१०, रुपन्देहीको आयोजनामा शिक्षा सचेतना कार्यक्रमअन्तर्गत ‘हाम्रो ज्ञान, हाम्रो शिक्षा’ शीर्षकमा विद्यार्थी कविता प्रतियोगिता तथा ‘हाम्रो गाउँ, हाम्रो देश’ विषयक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।

२०८३ साल असोज २६ गते सैनामैना–८, रामापुरस्थित सच्चिन्तन सामुदायिक प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यार्थीहरूमा शिक्षाको महत्त्वबारे चेतना अभिवृद्धि गर्ने, साहित्यिक तथा सिर्जनात्मक प्रतिभा उजागर गर्ने र समाजप्रति जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रममा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सुप्रीयान्जली घिमिरेले सभाध्यक्षता गर्नुभएको थियो। अतिथिका रूपमा वडा नं. ६ का गोपाल पोख्रेल, वडा नं. ९ का भानुभक्त पाण्डे तथा वडा नं. ५ की वडा सदस्य मनकुमारी राईको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन बसन्ती कार्कीले गर्नुभएको थियो।
कविता प्रतियोगिताको निर्णायकका रूपमा सरु ज्ञवाली र रुद्र ज्ञवाली रहनुभएको थियो।
प्रतियोगितामा ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलका कमानसिंह वि.क.ले प्रथम, सैनामैना माध्यमिक विद्यालयकी दर्शना ज्ञवालीले द्वितीय, जनकल्याण माध्यमिक विद्यालयका खगराज जैसीले तृतीय र सिद्धार्थ मेमोरियल स्कुलकी सिजल भट्टले सान्त्वना स्थान हासिल गर्नुभयो।
विजेताहरूलाई क्रमशः प्रथम पुरस्कार रु. ५,०००, द्वितीय पुरस्कार रु. ३,०००, तृतीय पुरस्कार रु. २,५०० र सान्त्वना पुरस्कार रु. १,५०० प्रदान गरिएको थियो। प्रतियोगिताको मूल्याङ्कनमा योगदान पुर्याउनुभएका निर्णायकद्वयलाई जनही रु. १,५०० प्रदान गरिएको थियो।
कार्यक्रममा प्रस्तुत ‘हाम्रो गाउँ, हाम्रो देश’ विषयक नाटकले गाउँ, समाज र देशप्रतिको जिम्मेवारी, एकता तथा सकारात्मक परिवर्तनको सन्देश दिएको थियो। त्यसैगरी ‘हाम्रो ज्ञान, हाम्रो शिक्षा’ शीर्षकको कविता प्रतियोगिताले शिक्षाको महत्त्व र ज्ञानको आवश्यकतालाई उजागर गरेको थियो।
कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन र शिक्षा सचेतना विस्तारमा योगदान पुर्याएको आयोजकले जनाएको छ। गर्ल्स इम्पावरमेन्ट ग्रुपले आगामी दिनमा पनि शिक्षा, किशोरी सशक्तीकरण तथा सामाजिक सचेतनाका क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।

