इनरविल क्लब अफ सैनामैनाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०८३ आश्विन २९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

सैनामैना। इनरविल क्लब अफ सैनामैनाले नेपाली हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा क्लबकी ज्येष्ठ सदस्य तथा सैनामैना नगर कार्यपालिका सदस्य मनकुमारी राईको करकमलबाट सहभागीहरूलाई टीका, जमरा, दक्षिणा तथा आशीर्वाद प्रदान गरिएको थियो। पर्वको सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै आपसी सद्भाव, एकता र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

सोही अवसरमा क्लबकी चार्टर प्रेसिडेन्ट दीपिका शर्मा, उपाध्यक्ष अजिता पाण्डे तथा सदस्य राधा ज्ञवालीको जन्मदिनको अवसरमा विशेष केक काटेर जन्मदिनको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

कार्यक्रममा क्लबकी अध्यक्ष सीता खनालले बडादसैँलगायतका पर्वले सबैको जीवन रङ्गीन बनाओस्, परिवारमा सुख, शान्ति र समृद्धि छाओस् तथा समाजमा आपसी सद्भाव र एकता कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी, क्लबकी चार्टर प्रेसिडेन्ट दीपिका शर्माले क्लबले गर्दै आएका सामाजिक तथा रचनात्मक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्थाको सक्रियता निरन्तर रहोस् भन्ने कामनासहित महान् पर्वहरूको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा क्लबकी पास्ट प्रेसिडेन्ट सुनिता खत्रीले आफ्नै हातले बुनेको मायाको चिनो क्लबलाई प्रदान गर्नुभएको थियो। उक्त मायाको चिनोले सदस्यहरूबीचको आत्मीयता, प्रेम र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको सञ्चालन क्लबकी सचिव रीता खत्रीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन अजिता पाण्डेले गर्नुभएको थियो।

कार्यक्रमले चाडपर्वको खुसी साटासाट गर्नुका साथै क्लबका सदस्यहरूबीच आपसी सद्भाव, एकता र आत्मीयता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय