प्रदिप ज्ञवाली
असोज ३० शुक्रबार

सैनामैना ।
नेपालीहरूको महान् पर्व बडादशैँ २०८३ को अवसरमा ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलमा टीका तथा जमरा ग्रहण गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा आयोजित कार्यक्रममा टीका र जमरा ग्रहण गर्दै दशैँको खुसी साटासाट गरिएको थियो। कार्यक्रममा विद्यालय परिवारका सदस्यहरूले आपसी प्रेम, सद्भाव, सम्मान र आत्मीयता अभिव्यक्त गर्दै पर्व मनाएका थिए।
कार्यक्रममा विद्यालयका सञ्चालक समिति अध्यक्ष बाबुराम कँडेल, व्यवस्थापन समिति अध्यक्ष जीवनबन्धु सेवानि, म्यानेजिङ डाइरेक्टर प्रकाश भट्टराई, प्रधानाध्यापक सुवास पौडेल, उपप्रधानाध्यापक भीम थापालगायत शिक्षक तथा विद्यालय परिवारको उपस्थिति रहेको थियो। साथै, आदरणीय रामप्रसाद पोखरेल सरलगायतबाट विद्यार्थी तथा शिक्षकहरूले टीका र जमरा ग्रहण गरेका थिए।
दशैँ उत्सवले विद्यार्थीहरूमा नेपाली मौलिक संस्कृति, परम्परा र संस्कारप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै विद्यालय परिवारबीच एकता र आत्मीयता बलियो बनाउन सहयोग पुर्याएको विद्यालयले जनाएको छ।
यस अवसरमा विद्यालयले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै बडादशैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।

