प्रदिप ज्ञवाली
असोज ३० शुक्रबार
सैनामैना । नेपालीहरूको महान् पर्व बडादशैँ नजिकिँदै गर्दा ‘भगौँ अभियान नेपाल’ले अभावका कारण कुनै पनि परिवार चाडपर्वको खुसीबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित सहयोग अभियान सञ्चालन गर्ने भएको छ।
अभियानअन्तर्गत आवश्यकतामा रहेका परिवारलाई खाद्यान्न, लत्ताकपडा, घरायसी सामग्री तथा विशेष आवश्यकता भएका परिवारलाई सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

अभियानले दशैँको समयमा हरेक घरमा खुसी छाओस्, प्रत्येक परिवारको चुलो बलोस् र आर्थिक अभावका कारण कसैले पनि चाडपर्व मनाउनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग लिएर समुदायमा पुग्ने जनाएको छ।
त्यस्तै, आफ्नो टोलछिमेकमा सहयोग आवश्यक परेका व्यक्ति वा परिवार भएमा अभियानलाई सन्देश पठाउन वा सम्बन्धित परिवारलाई अभियानसँग सम्पर्कमा ल्याइदिन पनि अनुरोध गरिएको छ।
‘भगौँ अभियान नेपाल’का अध्यक्ष कृष्णप्रसाद शर्माले सामाजिक सेवाप्रतिको प्रतिबद्धतासहित सञ्चालन गरिएको यस अभियानमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको जनाउनुभएको छ ।
अभियानमा सहयोग आवश्यक पर्ने परिवारबारे जानकारी दिन वा सम्पर्क गर्न ९८५७०२६५२५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
सानो सहयोगले कसैको दशैँमा ठूलो खुसी ल्याउन सक्छ भन्ने सन्देशसहित अभियानले सहयोगी मनहरूलाई मानवीय सेवामा जोडिन आग्रह गरेको छ।

