प्रदिप ज्ञवाली
कार्तिक १६ सोमबार

सैनामैना । सैनामैना नगरपालिका–७ निवासी सञ्जाल भुसाल फोटोग्राफी पेशासँगै व्यावसायिक पुष्पखेतीमा सक्रिय बनेका छन्। आफ्नै माटोमा केही गर्ने सोच र उद्यमशील भावनाका साथ उनले करिब ९ कठ्ठा जग्गामा व्यावसायिक रूपमा सयपत्री फूलखेती गरिरहेका छन्।
फोटोग्राफीलाई मुख्य पेशाका रूपमा अघि बढाउँदै आएका भुसालले पछिल्लो समय कृषि क्षेत्रलाई पनि आम्दानी र आत्मनिर्भरताको माध्यम बनाएका छन्। आफ्नै मेहनत, परिश्रम र लगनशीलताबाट सुरु गरेको उनको सयपत्री खेती स्थानीय स्तरमै कृषि उद्यमको सम्भावना देखाउने उदाहरण बनेको छ।
परम्परागत रूपमा खेती हुँदै आएको कृषि क्षेत्रलाई व्यावसायिक स्वरूप दिन सके स्थानीय स्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने उनको प्रयासले सन्देश दिएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन र स्वदेशी उद्यमलाई प्रोत्साहन गर्न भुसालजस्ता कृषक तथा उद्यमीलाई समुदायको साथ र सहयोग आवश्यक देखिन्छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै यस्ता प्रयासलाई प्रोत्साहन गर्न सके कृषि उद्यमशीलता र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ।

