सैनामैना नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

२०८३ मंसिर २, मंगलवार
पढ्ने समय : < 1 मिनेट


रुपन्देही । सैनामैना नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
सैनामैना नगरपालिकाको आयोजना तथा सैनामैना मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित उज्यालो पोस्ट अनलाइनको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्मा, उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, प्रहरी उपरीक्षक जनकबहादुर शाही लगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा गरेका विकास निर्माणका काम, सेवा प्रवाह, योजना कार्यान्वयन तथा प्रशासनिक गतिविधिका विषयमा छलफल गरिएको थियो। सहभागी नागरिकहरूले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा अन्य सार्वजनिक सरोकारका विषयमा जिज्ञासा, गुनासा र सुझाव राखेका थिए।
उठेका प्रश्न तथा जिज्ञासाको सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीहरूले जवाफ दिँदै नागरिकका सुझावलाई आत्मसात् गरी आगामी दिनमा नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्नुका साथै नगरपालिकाको कामकारबाहीप्रति नागरिकको चासो, निगरानी र सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमको सञ्चालन उज्यालो पोस्ट अनलाइनका सम्पादक रमेश गैरेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय