
प्रदिप ज्ञवाली
मङ्सिर ४ शुक्रबार
सैनामैना ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैना नगर समितिले आफ्नो नगर पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ। सैनामैना नगरपालिका–५ बुद्धनगर, रुपन्देहीमा कार्यालय स्थापना गरी पार्टीले औपचारिक रूपमा कार्यालय सञ्चालनमा ल्याएको हो।

लक्ष्मण पौडेल नगर सभापतिको जिम्मेवारीमा आएपछि रास्वपा सैनामैनाले संगठन विस्तार तथा पार्टीका विभिन्न गतिविधिलाई सक्रियता दिँदै आएको छ। नगर पार्टी कार्यालय सञ्चालनमा आएसँगै पार्टीका संगठनात्मक गतिविधि, बैठक, छलफल तथा अन्य कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
नगर कार्यालयलाई पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबीच भेटघाट, छलफल र संगठनात्मक गतिविधि अघि बढाउने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
रास्वपा सैनामैना नगर पार्टी कार्यालय सैनामैना–५, बुद्धनगर, रुपन्देहीमा रहेको छ।

