
प्रदिप ज्ञवाली
कार्तिक २१ शनिबार
सैनामैना। नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयमा तिहार विशेष देउसीभैलो तथा रंगोली प्रतियोगिता सम्पन्न भएको छ।
तिहारको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक देउसीभैलो प्रस्तुति दिएका थिए भने रंगोली प्रतियोगितामार्फत आफ्नो सिर्जनशीलता र कलात्मक प्रतिभा प्रदर्शन गरेका थिए।

देउसीभैलोको गुञ्जायमान प्रस्तुतिले नेपाली मौलिक संस्कृतिको झल्को दिएको थियो भने विभिन्न रंग र कलात्मक शैलीमा तयार पारिएका रंगोलीले कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको थियो।
यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा सिर्जनशीलता, सांस्कृतिक चेतना, सामूहिक भावना तथा आपसी सद्भाव विकास गर्न सहयोग पुग्ने विद्यालयका प्राचार्य लेखनाथ गैरेले बताउनुभयो।


