मुक्ति राम पोखरेल

सिड्नी।अस्ट्रेलियामा नेपाली समुदायको एकता, पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सिड्नीमा आगामी नोभेम्बर २७ र २८ मा दुई महत्त्वपूर्ण कार्यक्रम आयोजना हुने भएका छन्। नेपाली समुदायको पाँच दशक लामो यात्राको उत्सव र भावी पुस्ताका लागि साझा सांस्कृतिक सम्पदा निर्माणको अभियानलाई जोड्दै कार्यक्रम आयोजना गर्न लागिएको हो।
सन् १९७६ मा स्थापना भएको नेपालीज अस्ट्रेलियन एसोसिएसन (NAA) ले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा नोभेम्बर २७ शुक्रबार हर्स्टभिलस्थित माराना हलमा स्वर्णजयन्ती समारोह आयोजना गर्ने भएको छ।
साँझ ५ बजेदेखि सुरु हुने समारोहमा नेपाली कला क्षेत्रका चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल तथा गायिका शान्तिश्री परियारको विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा प्रख्यात मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको समेत विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।
यसैगरी, नोभेम्बर २८ शनिबार ग्रेटर सिड्नी नेपालीज मल्टिकल्चरल सेन्टर (GSNMC) ले सिड्नीस्थित वेस्ली कन्फरेन्स सेन्टरमा सदस्य सम्मान तथा कोष सङ्कलन साँझ आयोजना गर्ने भएको छ। साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा संस्थाका सदस्यहरू तथा नेपाली समुदायमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ।
GSNMC ले ‘Connect, Inspire, Thrive’ अर्थात् ‘जोडौँ, प्रेरित गरौँ र समृद्ध बनौँ’ भन्ने मूल नारासहित सिड्नीमा नेपाली कला, संस्कृति र पहिचान झल्किने सांस्कृतिक भवन निर्माणको दीर्घकालीन अभियान अघि बढाएको छ।
प्रस्तावित सांस्कृतिक भवनमा नेपाली मौलिक वास्तुकला, परम्परा, संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रदर्शन गर्ने परिकल्पना गरिएको छ। नेपाली समुदायले विवाह, चाडपर्व, सांस्कृतिक उत्सव, सभा, सम्मेलनलगायत सामाजिक गतिविधि सञ्चालन गर्न सक्ने साझा स्थलका रूपमा भवन विकास गर्ने संस्थाको लक्ष्य छ।
त्यति मात्र नभई अस्ट्रेलियामा रहेका विभिन्न जातजाति तथा सांस्कृतिक समुदायलाई समेत समेट्दै बहुसांस्कृतिक एकता, आपसी सद्भाव र सहकार्य प्रवर्द्धन गर्ने केन्द्रका रूपमा भवनलाई विकास गर्ने योजना रहेको छ। विशेषगरी अस्ट्रेलियामा हुर्किरहेका दोस्रो पुस्ताका नेपाली बालबालिका तथा युवालाई आफ्नो भाषा, संस्कृति र पुर्खाको पहिचानसँग जोड्न सांस्कृतिक भवन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
NAA का सल्लाहकार उमेश पन्तले दुवै कार्यक्रमलाई नेपाली समुदायको इतिहास, उपलब्धि र भविष्यसँग जोडिएका महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार NAA को स्वर्णजयन्तीले पाँच दशकसम्म नेपाली समुदायका लागि पुर्याएको योगदानको स्मरण र सम्मान गर्नेछ भने GSNMC को अभियानले भावी पुस्ताका लागि साझा सांस्कृतिक आधार निर्माण गर्नेछ।
त्यस्तै, GSNMC का अध्यक्ष विष्णु हमालले नेपाली सांस्कृतिक भवन निर्माणको सपना साकार पार्न सम्पूर्ण नेपाली समुदायको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। उनले सिड्नी तथा आसपासमा बसोबास गर्ने नेपालीहरूलाई कार्यक्रममा सहभागी भई संस्थाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।
लगातार दुई दिन आयोजना हुने यी कार्यक्रमले अस्ट्रेलियामा नेपाली समुदायले हासिल गरेका उपलब्धिको उत्सव मनाउनुका साथै भाषा, संस्कृति, पहिचान र सामुदायिक एकतालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने अभियानलाई थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।

