लिसन सिंहदरबार’का सम्पादित क्लिपबाट धारणा नबनाउन अपिल

२०८३ आश्विन २२, बिहीबार
पढ्ने समय : < 1 मिनेट


लोकतन्त्रले प्रत्येक नागरिकलाई आफ्ना विचार स्वतन्त्र रूपमा राख्ने, प्रश्न गर्ने तथा बहस गर्ने अधिकार प्रदान गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा सम्पादित भिडियोका आधारमा धारणा नबनाउन अपिल गरिएको छ। भिडियोको अंश अंश काटेर सामाजिक सञ्जालमा राखि आम नागरिकलाई भ्रमित गराएको पाइएपछि पाल्पा २ का सांसद माधव थापाद्वारा उक्त अपिल गरिएको हो ।
‘लिसन सिंहदरबार’ (Listen Singhadurbar) कार्यक्रममा पत्रकार राजेन्द्र बानियाँले व्यक्त गर्नुभएका नीति, विधि तथा विधिको शासनसम्बन्धी विषयलाई सन्दर्भविहीन रूपमा सामाजिक सञ्जालमा प्रस्तुत गरिएको भन्दै त्यसप्रति ध्यानाकर्षण जनाइएको हो।
वक्तव्यमा कार्यक्रममा उठाइएका विषयवस्तुको मूल मर्म बुझ्न सम्पादित वा छोट्याइएका भिडियोका क्लिपहरू मात्र पर्याप्त नहुने उल्लेख गरिएको छ। अधुरो भिडियो तथा सन्दर्भविहीन सामग्रीका आधारमा धारणा निर्माण गर्नुको सट्टा सम्बन्धित कार्यक्रमको पूर्ण सामग्री हेरेर विषयवस्तुको वास्तविक सन्दर्भ बुझ्न आग्रह गरिएको छ।
आम विवेकशील नागरिक तथा साथीहरूलाई सामाजिक सञ्जालमा प्रसारित अधुरा भिडियोका टुक्राहरूको पछि नलागी आधिकारिक च्यानलमा उपलब्ध पूर्ण भिडियो हेर्न र त्यसपछि मात्र आफ्नो धारणा बनाउन अपिल गरिएको छ।
लोकतन्त्रले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रतालाई जिम्मेवार ढंगले प्रयोग गर्दै सत्यतथ्यमा आधारित स्वस्थ बहस र छलफलको वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिइएको छ। भ्रममुक्त समाज तथा विधिको शासन सुदृढीकरणका लागि तथ्य र सन्दर्भमा आधारित नागरिक बहस आवश्यक रहेको वक्तव्यमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय