
सैनामैना । रामनगर सहकारी संस्था लिमिटेडको स्वर्ण जयन्तीका अवसरमा सैनामैनाका सहकारीकर्मीहरूबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले सहकारी क्षेत्रप्रति बढ्दो चुनौती र जनगुनासोलाई सम्बोधन गर्न नीति, नियम, वित्तीय पारदर्शिता र सदस्यको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका सल्लाहकार चित्रबहादुर केसीले सहकारी क्षेत्रमा देखिएका विकृति, आर्थिक अनियमितता र कमजोर व्यवस्थापनप्रति चिन्ता व्यक्त गर्दै सहकारी संस्थाहरू कानुनी दायराभित्र रहेर सञ्चालन हुनुपर्ने बताए। पहुँचवाला व्यक्तिहरूले सहकारी स्थापना गर्ने र शाखा विस्तारका नाममा आर्थिक हिनामिना गर्ने प्रवृत्तिले सहकारी क्षेत्र बदनाम भएको उनको भनाइ थियो।
विगतमा अनुशासन र नीति–नियमभन्दा व्यवहारिकतालाई बढी प्राथमिकता दिँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै केसीले अब सहकारी सञ्चालनमा कानुनी व्यवस्था र पारदर्शितालाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए। बैंकको मुख्य उद्देश्य नाफा कमाउनु भए पनि सहकारीको मूल ध्येय सदस्यहरूको आर्थिक हित र उन्नति गर्नु रहेको उनले स्पष्ट पारे।
संस्थाका पूर्वअध्यक्ष तुल्सी प्रसाद लम्सालले सहकारीको दिगोपनाका लागि वित्तीय पारदर्शिता अपरिहार्य रहेको बताए। संस्थाको आर्थिक गतिविधि स्पष्ट, व्यवस्थित र सदस्यप्रति जवाफदेही हुनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, निवर्तमान अध्यक्ष प्रेमबहादुर खड्काले विक्रम संवत् २०३३ सालदेखि विभिन्न कठिनाइ र चुनौतीको सामना गर्दै रामनगर सहकारी वर्तमान अवस्थासम्म आइपुगेको स्मरण गरे। संस्थाको ऐतिहासिक यात्रालाई निरन्तरता दिन सहकार्य, अनुशासन र जिम्मेवार नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
सहकारी अभियन्ता लोकनाथ अधिकारीले वर्तमान जटिल परिस्थितिमा सहकारीहरूले सदस्यलाई प्रदान गर्दै आएको सेवा र भूमिकाको समीक्षा गर्नुपर्ने बताए। सहकारीहरूले वित्तीय कारोबारलाई प्राथमिकता दिए पनि सदस्यहरूलाई पर्याप्त सहकारी शिक्षा दिन नसक्दा समस्या बढेको उनको धारणा थियो।
अधिकारीले कृषि सहकारीहरूलाई उत्पादनमूलक क्षेत्रमा सक्रिय हुन आग्रह गर्दै राज्यको कानुनअनुसार मल, गहुँ तथा आलुका बीउ उत्पादनलगायतका काममा जोड दिनुपर्ने बताए। सहकारी अभियानलाई प्रभावकारी बनाउन अभियन्ताहरू एउटै स्पष्ट उद्देश्यका साथ अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए।
यसैगरी, साना किसान कृषि सहकारी संस्था पर्रोहा शाखाका अध्यक्ष तथा भूमिपुत्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिलबहादुर थारुले सैनामैना क्षेत्रका सबै सहकारी संस्थाहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। सहकारीबीच आपसी सहकार्य र समन्वय बढाउन सके क्षेत्रको सहकारी अभियानलाई थप सुदृढ बनाउन सकिने उनको भनाइ थियो।
कार्यक्रममा सहकारी अभियन्ता जगन्नाथ गौतम, मेरुदण्ड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चामबहादुर क्षेत्री, नवदीप सहकारी संस्थाका अध्यक्ष गणेशकुमार खनाल, गोदावरी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला पौडेल तथा चौतारी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सावित्रा शर्माले पनि सहकारी क्षेत्रको सुदृढीकरण, सुशासन र भावी कार्यदिशाबारे धारणा राखेका थिए।
कार्यक्रमको अध्यक्षता गरेका रामनगर सहकारी संस्था लिमिटेडका अध्यक्ष दिपेश्वर पौडेलले कार्यक्रममा उठेका सुझाव तथा गुनासोलाई सम्बोधन गर्दै संस्थाको आर्थिक पारदर्शिता थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सहकारीलाई उत्पादनमूलक गतिविधितर्फ उन्मुख गराउँदै संस्थाको प्रकृतिअनुसार कृषिजन्य सामग्री, चिनी, मल तथा बीउबिजनको नियमित वितरणमा जोड दिने बताए।
संस्थाभित्र पदिय जिम्मेवारीमा रहेका सबैलाई आपसी समन्वय र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दै पौडेलले सदस्यको हितलाई केन्द्रमा राखेर संस्थाका गतिविधि सञ्चालन गरिने स्पष्ट पारे।
रामनगर सहकारीको स्वर्ण जयन्तीका अवसरमा आयोजित उक्त कार्यक्रमले सहकारी क्षेत्रका समस्या, चुनौती र सम्भावनाबारे साझा छलफल गर्ने अवसर प्रदान गरेको सहभागीहरूको धारणा थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव भेषराज शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

