दक्षिण एसियामा स्वास्थ्य, सामाजिक विकास र सामुदायिक नेतृत्वका अनुभव आदानप्रदान

सैनामैना । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यस्थित रकडेलमा वरिष्ठ स्वास्थ्य तथा विकास अभियन्ता डा. शान्तलाल मुल्मीसँग सामुदायिक नेतृत्वसम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन्स अफ अष्ट्रेलिया (फेन्का) न्यु साउथ वेल्सको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा अष्ट्रेलियामा क्रियाशील नेपाली संघसंस्थाका अगुवा, समाजसेवी, प्राध्यापक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
‘डा. शान्तलाल मुल्मीसँग सामुदायिक अगुवाहरूको अन्तरक्रिया’ शीर्षकमा आयोजित कार्यक्रममा दक्षिण एसियामा सामुदायिक विकास, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा भएका पहल र योगदानबारे छलफल गरिएको थियो। विशेषगरी नेपालमा भएका सामुदायिक प्रयासका अनुभव आदानप्रदान गर्दै नेपाली समुदायको विकासमा सहकार्यका सम्भावना खोजिएको आयोजकले जनाएको छ।
कार्यक्रममा मुख्य प्रस्तोता डा. मुल्मीले दक्षिण एसियामा स्वास्थ्य, सामुदायिक विकास र सामाजिक क्षेत्रमा भएका विभिन्न पहल, अनुभव तथा योगदानबारे विचार प्रस्तुत गर्नुभएको थियो। उहाँको प्रस्तुतिमाथि प्राध्यापक, पत्रकार तथा वरिष्ठ समाजसेवी डा. राजु मानन्धरले विश्लेषणात्मक टिप्पणी गर्दै छलफललाई सहजीकरण गर्नुभएको थियो।
छलफलका क्रममा सहभागीहरूले समुदायको दिगो विकास, सामाजिक उत्तरदायित्व, स्वास्थ्य सेवामा पहुँच, सामुदायिक संस्थाहरूको भूमिका, नेतृत्वको प्रभावकारिता तथा संस्थागत सहकार्यको आवश्यकताबारे आ–आफ्ना अनुभव र धारणा राखेका थिए।

कार्यक्रमको अध्यक्षता फेन्का अष्ट्रेलियाका अध्यक्ष डा. मधु पुडासैनीले गर्नुभएको थियो। फेन्का न्यु साउथ वेल्सका उपसंयोजक चिरन तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा संयोजक मुक्तिराम पोखरेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा नेपाली सिनियर सोसाइटी अष्ट्रेलियाका अध्यक्ष एवं वरिष्ठ समाजसेवी डा. नारायण प्रधान, प्राध्यापक डा. ध्रुव वश्याल, हिड्स नेपालका कार्यकारी संस्थापक प्रतापराज वन्त, गुठी अष्ट्रेलियाका सांस्कृतिक सचिव श्याम सैजु, आरएसएनए अष्ट्रेलियाका महासचिव कमल चापागाईं, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिड्नीकी पूर्वअध्यक्ष ममता तिवारीलगायत विभिन्न संघसंस्थामा आबद्ध व्यक्तित्वहरूको सहभागिता थियो।
त्यसैगरी स्वास्थ्यकर्मी तीर्थराज गुरागाईं, पिक रियल्टीका सञ्चालक राजु खनाल, गुल्मी समाज अष्ट्रेलियाका अध्यक्ष चतुरभुज खरेल, एभरेष्ट कम्युनिकेसन रकडेलका सञ्चालक एवं समाजसेवी युवराज भहराई, अभिभावक एवं समाजसेवी टीका गिरी, महिला अभियानकर्मी स्तुति मुल्मीलगायतले पनि छलफलमा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।
सहभागीहरूले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले नेपाली समुदायमा क्रियाशील संघसंस्थाबीच आपसी समझदारी, सहकार्य र अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्ने धारणा व्यक्त गरेका थिए। सामुदायिक विकासका सम्भावना र चुनौतीबारे खुला छलफल गर्ने अवसरका रूपमा कार्यक्रमलाई सहभागीहरूले उपयोगी बताएका थिए।
कार्यक्रम सफल बनाउन रकडेलस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका शाखा प्रबन्धक ऋतु अर्याल र आकाशले सहयोग पुर्याउनुभएको थियो।
समापनका क्रममा अध्यक्ष डा. पुडासैनीले सामुदायिक विकासका अवसर र चुनौतीबारे आफ्ना विचार राख्दै कार्यक्रम सफल बनाउन योगदान पुर्याउने प्रस्तोता, टिप्पणीकार, सहभागी तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँले यस्ता कार्यक्रमले नेपाली समुदायको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै सामुदायिक एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
रकडेलस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको कार्यालयमा सम्पन्न अन्तरक्रियाले अष्ट्रेलियामा क्रियाशील नेपाली संघसंस्थाका अगुवाहरूबीच सामुदायिक विकासका साझा लक्ष्य हासिल गर्न ज्ञान, अनुभव र सहकार्य आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ।

