रामापुर माध्यमिक विद्यालयमा दसैँ–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०८३ आश्विन २८, बुधबार
पढ्ने समय : 2 मिनेट

प्रदिप ज्ञवाली
असोज २८ बुधबार
सैनामैना। सैनामैना नगरपालिका–६ स्थित रामापुर माध्यमिक विद्यालयमा दसैँ, तिहारलगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, लेखा समितिका पदाधिकारी तथा शिक्षक–कर्मचारीबीच आपसी सद्भाव, आत्मीयता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलकुमारी पोखरेल (गोमा) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ६ का वडाध्यक्ष गोपाल पोखरेल प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका अध्यक्ष पिताम्बर ज्ञवाली तथा सदस्यहरू, लेखा समितिका पदाधिकारी, शिक्षक र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, वडा सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष तथा शिक्षकहरूलगायतका वक्ताहरूले दसैँ, तिहारलगायतका चाडपर्वले आपसी सद्भाव, एकता र भाइचारा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन शिक्षक अपेक्षा तिमिल्सिनाले सांगीतिक प्रस्तुति दिनुभएको थियो। त्यसअघि विद्यालयका सम्पूर्ण विद्यार्थीलाई प्रधानाध्यापक, कक्षाशिक्षक तथा अन्य शिक्षकहरूले रातो टीका लगाइदिँदै दसैँको शुभकामना व्यक्त गर्नुभएको थियो।

औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक करुणाप्रसाद न्यौपानेले गर्नुभएको थियो।

विद्यालय परिवारका पदाधिकारी, शिक्षक–कर्मचारी तथा सदस्यहरूबीच आपसी आत्मीयता र सम्बन्ध थप प्रगाढ बनाउँदै विद्यालयका शैक्षिक गतिविधिलाई सकारात्मक ऊर्जा र उत्साह प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयका सूचना अधिकारी नन्दराम पोखरेलले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय