प्रदिप ज्ञवाली
असोज ३१ शनिबार 
बागलुङ। बागलुङको जैमिनी नगरपालिका–५, बिनामारेमा चम्किलो तारा युवा क्लबको आयोजनामा वार्षिकोत्सव तथा दशैँ मेला–२०८३ भव्य रूपमा सुरु भएको छ। शनिबार असोज ३१ गते सर्वोदय जनक माध्यमिक विद्यालयको प्राङ्गणमा मेलाको उद्घाटन गरिएको हो।

मेलाको उद्घाटन गर्दै जैमिनी नगरपालिका–५ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ठगबहादुर थापाले क्लबले सञ्चालन गर्दै आएका सामाजिक तथा खेलकुद गतिविधिको प्रशंसा गर्नुभयो। उहाँले खेलकुदले अनुशासन, एकता र सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै क्लबले यस क्षेत्रमा गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। साथै, क्लबका आगामी गतिविधिमा वडा कार्यालयको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
क्लबका अध्यक्ष आशिष केसीले वार्षिकोत्सव तथा दशैँ मेलालाई निरन्तरता दिँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सामाजिक तथा खेलकुद गतिविधिलाई प्राथमिकता दिने उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने दाता, संघसंस्था तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।
मेलाअन्तर्गत महिला तथा पुरुष भलिबल प्रतियोगिता, हाजिरीजवाफ, नृत्य प्रतियोगिता र भाग्यशाली कुपनलगायतका आकर्षक कार्यक्रम समावेश गरिएका छन्। उद्घाटनकै दिन पुरुष भलिबल प्रतियोगिताअन्तर्गत छवटा खेल सम्पन्न भएका छन्।
क्लबका अनुसार मेलाको समापन, फाइनल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रम कार्तिक २ गते आयोजना हुनेछ। कार्यक्रम संयोजक आनन्द हमालका अनुसार सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार सूर्य खड्का, तेजस रेग्मीलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
उद्घाटन समारोहमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेता तथा प्रतिनिधि र स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
क्लबका अध्यक्ष आशिष केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्षले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चारकर्मी अर्जुन थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

