पाल्पा जिल्लामा कफी उत्पादन वृद्धि, व्यावसायिक सम्भावना, विद्यमान चुनौती तथा कफी खेतीबाट प्राप्त हुन सक्ने बहुआयामिक लाभका विषयमा छलफल गरिएको छ।
तानसेनस्थित मेलोरा क्याफेमा आज पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माधव थापासँग कफी उत्पादन र यसको व्यावसायिक विकासका विषयमा विशेष छलफल सम्पन्न भएको हो।
छलफलमा कफी खेतीको विस्तार, उत्पादन वृद्धि, व्यावसायीकरण, दिगो बजार प्रवर्द्धन तथा कृषकलाई प्रोत्साहन गर्ने विषयमा विचारविमर्श गरिएको थियो। कफी उत्पादनमार्फत स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने, कृषकको आयआर्जन बढाउने र जिल्लाको आर्थिक सम्भावनालाई उपयोग गर्ने विषयमा समेत छलफल केन्द्रित रहेको थियो।


सो अवसरमा सांसद थापाले कफीको व्यावसायीकरण र दिगो बजार प्रवर्द्धनका लागि आगामी दिनमा ठोस रणनीति तथा योजनाका साथ अगाडि बढ्ने बताउनुभयो। कफी खेतीमा संलग्न कृषकलाई प्रोत्साहन गर्दै उत्पादन र बजारबीचको सम्बन्ध सुदृढ बनाउन आवश्यक पहल गरिने उहाँको भनाइ थियो।

छलफलमा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले कफी उत्पादनको वर्तमान अवस्था, बजार व्यवस्थापनका चुनौती तथा यसको व्यावसायिक विकासका सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए।
पाल्पामा कफी खेतीको सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्न उत्पादन वृद्धि, गुणस्तर सुधार, बजार सुनिश्चितता र कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा छलफलले जोड दिएको छ।

