
कार्तिक १५ आइतबार
सैनामैना, रुपन्देही
सैनामैना-४, मुर्गियामा स्थित ग्यालेक्सी ई. बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा भव्य रूपमा प्रकाशन गरेको छ। विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच मन्टेश्वरीदेखि कक्षा १० सम्मको परीक्षा फल सार्वजनिक गरिएको हो।
अभिभावकहरूको उल्लेखनीय र बाक्लो उपस्थितिमा सम्पन्न उक्त नतिजा प्रकाशन कार्यक्रममा परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक तथा सह-प्रधानाध्यापकले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो। पुरस्कार वितरण गर्दै प्रधानाध्यापकले विद्यार्थीहरूको लगनशीलता र अनुशासित प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि हौसला तथा शुभकामाना व्यक्त गर्नुभयो।
कार्यक्रममा आफ्ना नानीबाबुहरूको प्रगति विवरण बुझ्न आएका अभिभावकहरूले विद्यालयको शिक्षण पद्धति र शैक्षिक वातावरणप्रति खुसी व्यक्त गरेका थिए। आफ्ना बालबालिकाहरूको सफलता र विद्यालयले दिएको सम्मानले अभिभावकहरूमा थप उत्साह थपेको देखिन्थ्यो।
नतिजा प्रकाशन कार्यक्रमको समापन गर्दै विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणत्मक सम्बन्ध महत्त्वपूर्ण हुने बताउँदै शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


