
प्रदिप ज्ञवाली
कार्तिक १७ मङ्गलबार
सैनामैना।रुपन्देहीको सैनामैना ८ स्थित नमुना युथ क्लबले युवाको क्षमता विकास तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।
क्लबको वार्षिक कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षका लागि युवा लक्षित आधारभूत कम्प्युटर, एडोब फोटोसप, उद्घोषण तथा माइन्युट लेखन र अनलाइन फाराम भर्ने तालिम सञ्चालन गर्न लागिएको क्लवका अध्यक्ष महेश अधिकारीले जनाएको छ।


क्लबद्वारा प्रकाशित सूचनाअनुसार एक महिने आधारभूत कम्प्युटर तालिममा सैनामैनाका प्रत्येक वडाबाट पाँच जनाका दरले ५५ जना, १५ दिने एडोब फोटोसप तालिममा प्रत्येक वडाबाट दुई जनाका दरले २२ जना, एक हप्ते उद्घोषण तालिममा प्रत्येक वडाबाट पाँच जनाका दरले ५५ जना र तीन दिने अनलाइन फाराम भर्ने तालिममा प्रत्येक वडाबाट तीन जनाका दरले ३३ जना सहभागी गराइनेछ।
तालिममा सहभागी हुन इच्छुक, आर्थिक अवस्था कमजोर भएका तथा अपाङ्गता भएका १६ देखि ३५ वर्ष उमेर समूहका युवालाई प्राथमिकता दिइने क्लबले जनाएको छ।
तालिमका लागि आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र क्लबको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न सकिनेछ। आवेदनका लागि नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, निवेदन, हजुरको पारिवारिक विवरण, पासपोर्ट साइजको फोटो तथा घरपरिवारको आर्थिक अवस्थासम्बन्धी जानकारी आवश्यक पर्ने सूचनामा उल्लेख छ। आवेदक सैनामैना नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ।
युवालाई सीपयुक्त, दक्ष र आत्मनिर्भर बनाउँदै रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको क्लबले जनाएको छ।

