
बुटवल, कात्तिक १९। प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–१२, तामनगरले आफ्नै नवनिर्मित कार्यालय भवनको समुद्घाटन तथा गृहप्रवेश समारोह बिहीबार सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न समारोहमा ८९ वर्षीय ज्येष्ठ शेयर सदस्य गनबहादुर सुस्लिङ प्रमुख अतिथि रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा वडा नं. १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य, संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार संयोजक सूर्यबहादुर राना र ज्येष्ठ महिला सदस्य यमकुमारी पौडेलको उपस्थिति रहेको थियो।

गृहप्रवेशको शुभारम्भ वडा अध्यक्ष आचार्यले रिबन काटेर गर्नुभएको थियो भने संस्थाका जन्मदाता स्वर्गीय बखानसिंह गुरुङको तस्बिरमा सूर्यबहादुर रानाले माल्यार्पण गर्नुभएको थियो। त्यसैगरी, संस्थाको नाम अङ्कित पट्टिका प्रमुख अतिथि सुस्लिङ र विशिष्ट अतिथि पौडेलले संयुक्त रूपमा अनावरण गरी भवनको औपचारिक समुद्घाटन गर्नुभएको थियो।
समारोहमा अध्यक्ष थापाले भवन निर्माण प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वि.सं. २०६० मा स्थानीय शिक्षित युवाहरूको पहलमा स्थापित भई २०६५ देखि औपचारिक रूपमा सञ्चालनमा आएको संस्थामा हाल १ हजार ६ सय तीस शेयर सदस्य आबद्ध रहेको जानकारी गराउनुभयो। दुई दशकभन्दा लामो सहकारी यात्रामा आफ्नै भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याउनुलाई संस्थाले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको बताउनुभयो। यसबाट सदस्यहरूलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रवाह हुनुका साथै संस्थाको पहिचान, संस्थागत विकास र दीर्घकालीन स्थायित्वमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, गुणस्तर, मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर निर्माण कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो।
उपाध्यक्ष प्रकाशमणि खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव तीर्थराज काफ्लेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमसम्बन्धी जानकारी सञ्चालक झबिन्द्रप्रसाद आचार्यले दिनुभयो।

आफ्नै भवन निर्माणसँगै प्रयास सहकारीले सदस्यहरूलाई सेवा प्रवाह थप व्यवस्थित बनाउने र संस्थागत यात्रालाई थप मजबुत बनाउने अपेक्षा गरेको छ।

