रामापुर रिभाइभलमा तिहार विशेष देउसी–भैलो तथा रङ्गोली प्रतियोगिता सम्पन्न

२०८३ कार्तिक २१, शुक्रबार
पढ्ने समय : 2 मिनेट


कार्तिक २० शुक्रबार
सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका–८ , रामापुरस्थित रामापुर रिभाइभल इङ्लिस बोर्डिङ स्कुलमा तिहारको अवसरमा देउसी–भैलो तथा रङ्गोली प्रतियोगिता सम्पन्न भएको छ।

नेपाली मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

विद्यालयमा आयोजित देउसी–भैलो प्रतियोगिता अन्तरसदनात्मक रूपमा सञ्चालन गरिएको थियो भने रङ्गोली प्रतियोगिता तहगत रूपमा अन्तरकक्षाबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति झल्कने देउसी–भैलो प्रस्तुति तथा आकर्षक रङ्गोलीमार्फत आफ्नो प्रतिभा र सिर्जनशीलता प्रदर्शन गरेका थिए।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीला शर्मा प्रमुख अतिथि रहनुभएको थियो। अतिरिक्त क्रियाकलाप संयोजक किरण तिवारी र प्रमुख अतिथि शर्माले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन तथा संयोजन शिक्षक विशाल पौडेलले गर्नुभएको थियो।

प्रतियोगिताअन्तर्गत देउसी–भैलोतर्फ रेड हाउस प्रथम र ह्वाइट हाउस द्वितीय भएका छन्। रेड हाउसका हाउस कोच विशाल पौडेल र ह्वाइट हाउसका हाउस कोच शिबु चापागाईं रहनुभएको थियो। त्यसैगरी, रङ्गोली प्रतियोगितातर्फ कक्षा ९ प्रथम र कक्षा ७ द्वितीय भएका छन्।

विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा सांस्कृतिक चेतना, सिर्जनशीलता, आपसी सहकार्य तथा नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतियोगितामा विजयी सदन तथा कक्षालाई बधाई दिँदै विद्यालय परिवारले सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय