
गैडहवा, रुपन्देही।

गैडहवा गाउँपालिका वडा नं. ९अन्तर्गत सुर्यपुरा १, २ र ३ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ। संस्थाको आफ्नै कार्यालय परिसरमा आयोजित साधारणसभामा खानेपानीको दिगो व्यवस्थापन, स्वच्छता, सरसफाइ तथा उपभोक्तालाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले खानेपानी नागरिकको आधारभूत आवश्यकता र मौलिक अधिकारसँग जोडिएको विषय भएको बताउनुभयो। उहाँले स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै खानेपानी संस्थाहरूले पारदर्शिता, जवाफदेहिता र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो। खानेपानीको संरक्षण, मुहानको सुरक्षा तथा सरसफाइमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो। संस्थाको विकास र सेवा सुधारका लागि गाउँपालिकाबाट आवश्यक समन्वय र सहयोग गरिने उहाँले विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि खानेपानी तथा सरसफाइ संस्था रुपन्देहीका प्रमुख प्रकाश केसीले खानेपानी संस्थाहरूले उपभोक्तालाई सुरक्षित, स्वच्छ र नियमित खानेपानी उपलब्ध गराउनु महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। उहाँले खानेपानीको गुणस्तर परीक्षण, पाइपलाइनको नियमित मर्मत, पानीको उचित प्रयोग र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। संस्थाको दीर्घकालीन सञ्चालनका लागि आर्थिक पारदर्शिता र उपभोक्ताको विश्वास आवश्यक रहेको उहाँले बताउनुभयो।

संस्थाका संस्थापक अध्यक्ष तथा वडा नं. ८ का अध्यक्ष भुवन रानाले संस्थाको स्थापना र विकासमा सहयोग गर्ने सम्पूर्ण उपभोक्तालाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले खानेपानी सेवा विस्तार तथा व्यवस्थापनमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
वडा अध्यक्ष मिना क्षेत्री स्वच्छ खानेपानी र सरसफाइ स्वस्थ समाज निर्माणको आधार भएको बताउनुभयो। उहाँले संस्थाको प्रगति र उपभोक्ताको सुविधाका लागि वडा कार्यालयबाट आवश्यक सहयोग तथा समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वागत मन्तव्य संस्था का उपाध्यक्ष चन्द्रप्रसाद गौचनले सम्पूर्ण लाई स्वागत गर्दै सबै संग सल्लाह गरेर अगाडि बढने बताउनु भयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, स्थानीय समाजसेवी तथा खानेपानी उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष मोतिलाल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महादेव उपाध्यायले गर्नुभएको थियो। साधारणसभाले संस्थाको गतिविधि, सेवा व्यवस्थापन तथा आगामी योजनाबारे छलफल गर्दै खानेपानी सेवा अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

