सैनामैनामा अन्तरवडा क्रिकेट प्रतियोगिता सुरु, मेयर शर्माले गरे उद्घाटन

२०८३ मंसिर ८, सोमबार
पढ्ने समय : 2 मिनेट


प्रदिप ज्ञवाली
मङ्सिर ६ आइतबार
सैनामैना ।सैनामैना क्रिकेट क्लबको आयोजनामा सैनामैनामा आइतबारदेखि अन्तरवडा क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्रप्रसाद शर्माले गर्नुभएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख शर्माले नगरपालिकाले आफ्नो क्षमताअनुसार खेलकुद क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले क्रिकेट खेलको विकासका लागि खेलमैदानको पूर्वाधार निर्माणमा तीनै तहका सरकारको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रबाट समेत योगदान हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा क्लबका सल्लाहकार कृष्ण शर्माले देशव्यापी रूपमा क्रिकेटको माहोल बढिरहेका बेला सैनामैनामा पनि यस्ता प्रतियोगिता आयोजना हुनु आवश्यक रहेको बताउनुभयो।

त्यस्तै, क्लबका अध्यक्ष कृष्ण ज्ञवालीले सैनामैना क्षेत्रमा क्रिकेटको रौनक केही कम भइरहेको अवस्थामा विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो।

प्रतियोगितामा सैनामैना नगरपालिकाका ११ वडाका १० टोली सहभागी छन्। उद्घाटनपछिको पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ९ लाई सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ। उक्त खेलमा वडा नम्बर ६ का प्रदीप सुवेदी म्यान अफ द म्याच घोषित हुनुभएको खेल संयोजक सुनिल पौडेलले जानकारी दिनुभयो।

प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

कार्यक्रम क्लबका अध्यक्ष कृष्ण ज्ञवालीको अध्यक्षता तथा नगरप्रमुख फडेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारी, वडा नम्बर ७ का अध्यक्ष राजकुमार चौधरी र वडा नम्बर ९ का अध्यक्ष भानुभक्त पाण्डेलगायत विभिन्न संघसंस्था, क्लबका प्रतिनिधि तथा सहयोगदाताहरूको उपस्थिति रहेको थियो।

सैनामैना खेलकुद विकास समितिका सचिव डिआर गैरेले स्वागत गर्नुभएको कार्यक्रम क्लबका सदस्य मनिष जिसीले सञ्चालन गर्नुभएको थियो।

प्रतियोगिताका सबै खेल सैनामैनास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालन हुनेछन्। प्रतियोगिताको फाइनल खेल आगामी १२ गते सोही मैदानमा हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय