प्याराडाइज इङ्लिस स्कुलमा देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

२०८३ कार्तिक २२, शनिबार
पढ्ने समय : 3 मिनेट


प्रदिप ज्ञवाली
कार्तिक २१ शनिबार
सैनामैना। रूपन्देहीको सैनामैना नगरपालिका–१०, झिमझिमियाँस्थित प्याराडाइज इङ्लिस स्कुलमा तिहारको अवसरमा अन्तरसदनात्मक रङ्गोली निर्माण, देउसी–भैलो प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयले २० गते शुक्रबार आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले देउसी–भैलो, रङ्गोली निर्माणलगायत विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।

नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै विद्यार्थीमा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल साैगात भट्टराईले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका–१० का वडाध्यक्ष कृष्ण घिमिरेले नेपाली समाज विविध कला, संस्कृति र परम्पराले समृद्ध रहेको उल्लेख गर्दै मौलिक संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमले नयाँ पुस्तामा संस्कृतिप्रतिको सम्मान र नेपाली पहिचानलाई बलियो बनाउने उहाँको भनाइ थियो।

विद्यालयका प्रिन्सिपल सौगात भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले तिहारको ऐतिहासिक, सांस्कृतिक तथा पर्यावरणीय महत्त्वबारे प्रकाश पार्नुभयो। तिहारले जीवजन्तु, पशुपक्षी तथा प्रकृति संरक्षणको सन्देश दिनुका साथै मानिसलाई सकारात्मक सोच र उज्यालोतर्फ अघि बढ्न प्रेरित गर्ने उहाँले बताउनुभयो। विद्यालयले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै मौलिक संस्कृतिको संरक्षणमा जोड दिँदै आएको उहाँको भनाइ थियो।

कार्यक्रममा प्राइमरी तहकी एकेडेमिक कोअर्डिनेटर सरिता भट्टराई पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने आधारभूत तहका एकेडेमिक कोअर्डिनेटर ईश्वरप्रसाद खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रमअन्तर्गत विद्यार्थीका नृत्य समूहले ऐतिहासिक तथा मौलिक मारुनी र सोरठी नृत्य प्रस्तुत गरेका थिए। नेपाली लोकसंस्कृतिको झल्को दिने प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

प्रतियोगिताको नतिजा

अन्तरसदनात्मक रङ्गोली प्रतियोगितामा ग्रीन हाउस प्रथम, ब्लू हाउस द्वितीय, रेड हाउस तृतीय र यल्लो हाउस चौथो भएका थिए।

त्यस्तै, देउसी–भैलो प्रतियोगितामा ब्लू हाउस प्रथम, ग्रीन हाउस द्वितीय, यल्लो हाउस तृतीय र रेड हाउस चौथो स्थान हासिल गर्न सफल भएका थिए।

रङ्गोली प्रतियोगितामा प्रथम भएको ग्रीन हाउसका मेन्टर शिक्षक हेमता आले र ज्ञानबहादुर राना, द्वितीय भएको ब्लू हाउसका नर्मदा पोखरेल र युवराज क्षेत्री, तृतीय भएको रेड हाउसका ललिता थापा र यूकेश पाण्डे मगर तथा चौथो भएको यल्लो हाउसका अञ्जु थापा र मनिष पोखरेल रहनुभएको थियो।

देउसी–भैलो प्रतियोगितामा प्रथम ब्लू हाउसका नर्मदा पोखरेल र युवराज क्षेत्री, द्वितीय ग्रीन हाउसका हेमता आले र ज्ञानबहादुर राना, तृतीय यल्लो हाउसका अञ्जु थापा र मनिष पोखरेल तथा चौथो रेड हाउसका ललिता थापा र यूकेश पाण्डे मगर रहनुभएको थियो।

रङ्गोली प्रतियोगिताको निर्णायकमा जेनिसा बर्मरेल र नर्मदा पोखरेल रहनुभएको थियो भने देउसी–भैलो प्रतियोगिताको निर्णायकमा विद्यालयका सङ्गीत शिक्षक दिनेश जिसी, नृत्य शिक्षक तारा पल्ली मगर र झरना सारु रहनुभएको थियो।

कार्यक्रममा शिक्षक, अभिभावक तथा अतिथिहरूको सहभागिता रहेको थियो। औपचारिक कार्यक्रमपछि शिक्षक–शिक्षिकाबीच तिहारको शुभकामना आदानप्रदान गरिएको थियो। साथै शिक्षकहरूले मौलिक देउसी–भैलो प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रमलाई थप रौनकपूर्ण बनाएका थिए।

आपसी सद्भाव, उत्साह र आत्मीयताका साथ सम्पन्न कार्यक्रमले विद्यालय परिवारबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै नयाँ पुस्तामा नेपाली मौलिक संस्कृति हस्तान्तरण गर्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय